काठमाण्डू, १२ फागुन– आगामी बर्षको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गरेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना तयार गरेको छ ।
फागुन १४ मा शिवरात्रि पर्व मनाइँदै छ । फागुन १३ बाट नै प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।
काठमाण्डूको पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले सुरक्षा कमाण्ड गर्नेछन् ।
एसपीको कमाण्डमा मंगलबारदेखि नै प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले जानकारी दिएका छन । उनले भने, ‘पशुपति क्षेत्रमा ४ हजार २ सयभन्दा बढी प्रहरी परिचाल गर्ने गरी सुरक्षा योजना लागु गरेका छौँ ।’
सुरक्षा व्यवस्थापन चुस्त बनाउन प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा कमाण्ड पोस्ट तयार गरेको छ । कमाण्ड पोस्टबाट एसपी बोहरा सहित, ३ जना डीएसपी र ४ जना इन्स्पेक्टरले मनिटर गर्नेछन् ।
चोरी, डकैती र झडपका घटना रोक्न डीएसपीको नेतृत्वमा ४० जना सादा पोसाकका प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको छ ।
शिवरात्रि अवधिभर ३ सिफ्टमा प्रहरी परिचालिन हुनेछन् । चारवटा वाकथ्रु गेटमा प्राविधिक सहितका सुरक्षाकर्मी खटिने छन् । प्रहरीले सुरक्षाको लागी मेटल डिटेक्टर र ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ ।