काठमाण्डू, १२ फागुन– आज सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद् बैठक आह्नवान भएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे के निर्णय होला भन्ने चर्चा सुरु भएको छ । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ । उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए ।
डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौता उठाउने विषयमा राजनीतिक नेतृत्व र घिसिङबीच लामो समयदेखि विवाद छ ।प्राधिकरणले महसुल नतिर्ने तीन दर्जन बढी उद्योगको विद्युत लाइन काटेका थिए । सरकारले १५ दिनको समय दिएर लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले लाइन जोडिदियो । तर, महिनौं बित्दासमेत उद्योगीले बक्यौता तिर्न अटेरी गर्दै आएका छन् ।
ऊर्जा मन्त्रालयले सरकारले आदेश अटेर गरेकाले किन बर्खास्त नगर्ने भन्दै घिसिङलाई दुई महिनाअघि स्पष्टीकरण सोधेको थियो । घिसिङले त्यसको जवाफ दिएका छैनन् । पछिल्लो समय उनले विद्युत महसुल नतिर्ने उद्योगको लाइन काट्न विद्युत नियमन आयोगको स्वीकृति मागेका थिए । तर, आयोगले अनुमति दिन अस्वीकार गरेको छ ।
गत साता प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङलाई जिम्मेवारीमुक्त गर्न सक्ने संकेत गरेका थिए । उनले सरकारलाई नटेरेको, बोर्ड बैठकका निर्णय कार्यान्वयनमा आनाकानी गर्ने गरेको जस्ता आरोप घिसिङमाथि लगाएका थिए । यस्तै खड्काले घिसिङका कारण लोडसेडिङ अन्त्य भएको भन्ने दाबी मिथ्या भएको तर्क गरे ।
स्रोतका अनुसार केही दिन पहिला नै मन्त्री खड्काले घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेका छन् । सो कुराको सूचना पाएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार षड्यन्त्रपूर्वक कुलमान हटाउन लागिपरेको बताउँदै आएको छ ।