काठमाण्डू, ११ फागुन- जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रथम उपाध्यक्ष एवं सांसद् राजकिशोर यादवले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा गरिब, दरिद्र र भ्रष्टाचारीहरुको मुलुकको रुपमा स्थापित गर्ने कामको नैतीक जिम्मेवारी ३५ वर्षसम्म मुलुकको सत्तामा रजगज गर्ने काँग्रेस र एमालेले लिनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले प्रधानमन्त्री केपी ओलीले भ्रष्टार नगर्ने र गर्न नदिने बताउने गरेको चर्चा गर्दै अन्तर्राष्ट्रिय एजेन्सीहरुले भने नेपालमा भ्रष्टाचार बढेको रिपोर्ट दिइरहेकामा सरकारको धारणा माग गरे ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टले नेपालमा भ्रष्टाचार बढेको औंल्याएको र दुई दिनअघि मात्र फाइनान्सियल टास्कफोर्सले नेपाललाई ग्रे जोनमा राखेको उनको भनाइ थियो । यादवले नेपाल दरिद्र, गरिब र भ्रष्टाहरुको मुलुकको रुपमा चिनिँदा नेपालीहरुको आत्मसम्मानमा चोट पुगेको उल्लेख गरे ।
भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएपछि विरोधमा उत्रिएका नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनका अधिकारीले नेपालको बजेटभन्दा आफ्नो कलेजको बजेट धेरै रहेको भन्दै हेपेको प्रसंग कोट्याए ।
विदेशीले त्यसरी नेपाललाई हेप्ने परिस्थितिको निर्माण वर्षौंदेखि सरकारमा रहेको दलहरुले गरेको आरोप यादवले लगाए ।
‘प्रकृति लम्सालमाथि अमानवीय व्यवहार भयो । क्याम्पस प्रशासनका मानिसहरुले तिम्रो देशको बजेटभन्दा हाम्रो कलेजको बजेट धेरै छ भन्दा सरकारमा बसेकाहरुको मन पोल्दैन ? तपाईहरु काँग्रेस र कम्युनिष्टले ३५ वर्षदेखि नेपाललाई यो अवस्थामा पुर्याउनुभयो । आज यसको जिम्मेवारी लिने कि नलिने ?’ यादवले भने ।
उनले प्रधानमन्त्री केपी ओलीतर्फ लक्षित गर्दै हिजो आर्थिक स्थिति कमजोर भएर विवाह पनि गर्न नसक्नेहरु काठमाडौं छिरेर रातारात अर्बपति भएको टिप्पणी गरे । पत्नी राधिको शाक्यको कृति विमोचनमा शनिबार ओलीले आफूलाई राधिकाले विवाह गरेर भित्र्याएको बताएका थिए ।
उनले ३५ वर्षसम्म मुलुकमा रजगज गर्नेहरुको उच्चस्तरीय आयोग बनाएर सम्पत्ति छानबिन गर्नुपर्ने उनको प्रस्ताव थियो ।