काठमाण्डू, ११ फागुन– कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर भएको बताएका छन ।
आज (आइतबार) अर्थ समितिको आइतबारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो रु भन्ने प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र कांग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताएका हुन ।
समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसीसी परियोजना अघि बढाएको बताए ।
‘एक जना माननीयज्यूले यहाँ बोल्नुभयो । एकदम भाइरल बनेर आएको छ । एमसीसीको बारेमा बोल्नुभयो । एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसीसी अघि बढाउनुभएको थियो,’ उनले भने, ‘एमसीसीको कसले सही गरेको भन्नुभयो ।
मैले सही गरेको हो । तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो । अनि त्यसलाई अनुमोदन संसदले गरेको हो ।’सरकारको नेतृत्व गर्नेहरू सबैले एमसीसी परियोजना अघि बढाएको भन्दै संसदबाट एमसीसी अनुमोदन भएको पनि उनले बताए ।
अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरूको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नुभएको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने उनको भनाइ थियो ।