काठमाण्डू, ११ फागुन– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले नेपाली कांग्रेस र नेकपा एमालेले राजा चाहिँदैन भनेको नसुहाउने बताएका छन ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकम बोल्दै राप्रपा सांसद शाहिले यस्तो बताएका हुन । उनले भने, ‘आज माओवादी माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ ।
तर, राजाको पालामा प्रधानमन्त्री खाएको खाई गर्ने, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ (राजा)को विरोध गर्न पाइँदैन ।’ नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाले राजालाई मानेको उनले स्मरण गरे । कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल भनेको उनले बताए ।
उनले भने, ‘आज भएका साथीहरू यी कांग्रेस हुन कि होइनन् भन्ने प्रश्न चिन्ह खडा भयो । आज राजालाई यो संसदमा विरोध गरियो । कमसेकम विपीको सिद्धान्तलाई त मानेको भए हुन्थ्यो ।’
एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समेत एउटा राजा रहँदैमा र नरहँदैमा केही फरक नपर्ने तर, सामन्तवाद रहिरह्यो भने त्यसले फरक पार्छ भनेको सांसद शाहीले स्मरण गरे ।
उनले भने, ‘आज मदन भण्डारीको विचार पनि बेचेर खाए आज यिनीहरू मदन भण्डारीका कार्यकर्ता हुन कि होइनन् भनेर प्रश्न गर्नुपर्ने अवस्था आयो ।’