पूर्वराजा शाहलाई बामदेवको सुझाव: ०८४ को चुनाव लडेर प्रधानमन्त्री बन्नुस्

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १५:३३ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– पूर्वमन्त्री एवं राष्ट्रिय सभा सदस्य बामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन ।

आज (आइतबार) बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ’ भन्नु उचित नहुने बताएका छन ।

उनले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइ २०८४ मा हुने निर्वाचनमा भाग लिन उनले सुझाव दिएक हुन ।

उनले भने, ‘तपाईंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् ।

निर्वाचित भइ संसदबाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’ निर्वाचित भइ संसद्बाट प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास र समृद्धि कायम गर्न आग्रह गरेका हुन ।

उनले भने, ‘राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन् ।

राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्वीकारेकै थिए । राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us