काठमाण्डू, ११ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि रोक्न माग गरेको छ ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले रास्वपाकै तर्फबाट यस्तो माग गरेकी हुन ।
आजको बैठकमा बोल्दै सांसद कार्कीले भनिन्, ‘म समग्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु– त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन गरियोस्, समाधान गरियोस् ।’
बल मार्फत नभएर सरकारले समाधान वार्तामार्फत गर्नुपर्नेमा उनको जोड छ । अगाडि प्रश्न गर्छिन्, ‘जुन ठाउँमा विकासका योजना लगिन्छ त्यो ठाउँका जनताप्रति लाठी प्रहार गरेर, गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास भन्ने ?’यसअघि स्थानीयसँग भएको सहमति समेत कार्यान्वयन नभएको र सहमति कार्यान्वयन नभएपछि सरकारसँग नागरिकको विश्वास डगमगाएको उनले बताएकी छन ।