काठमाण्डू, ११ फागुन– एमाले सचिव योगश भट्टराईले कानुन अनुसार नै ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकार निमार्णको जिम्मा निजी क्षेत्रलाई दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताएका छन ।
उनले कबुलकार निमार्णको कारण भइरहेको विवादबारे संसद्बाट ध्यानाकर्षण गराएका छन् । एमाले सांसद भट्राईले भने, ‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ ।
केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो ।’ उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने पनि बताएका छन । उनले थपे, ‘त्यसमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ ।
तर विरोधका सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ भन्ने मान्यता हो ।’ विकासका विरोधी कोही पनि नभएको भन्दै धर्म संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन नसकेको पनि उनले बताएका छन । उनले भने, ‘विकास विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले भयंकर विवाद ल्याउँछ । हामीले देखेकै कुरा हो ।
त्यसैले हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो ।’ शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे ।
‘धर्म र संस्कृतिलाई जब हामी निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं, धर्म र संस्कृतिलाई जब राजनीतिमा प्रवेश गराउन थाल्छौं त्यसले एउटा भयंकर विवादको स्वरुप लिन्छ यो हामीले दुनियामा देखेका छौं’ भट्टराईले भने ।