काठमाण्डू, ११ फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले मन्त्रिपरिषद्मा सहभागी नभएका पार्टीका सांसदहरूले सरकारलाई खबरदारी गरिराख्नुपर्ने बताएका छन ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली कांग्रस सत्तापक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए । कोइरालाको उक्त अभिव्यक्तिपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको अनुमान गरीएको थियो ।
तर, कोइरालाले आफ्नो अभिव्यक्तिबाट गठबन्धनमा समस्या भएको भन्न नखोजेको बताएका छन् । ‘मैले त्यसरी भन्न खोजेको होइन । हामी एमाले र नेपाली कांग्रेसको सरकार छ । करिब–करिब दुई तिहाइको सरकार छ ।
दुई तिहाइको सरकार चलाउँदा नेपाली कांग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कोइरालाले भनेका छन्, ‘जो साथीहरू मन्त्रिपरिषद्मा हुनुहुन्छ, ती साथीहरूले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौं तर बाहिर छौँ ।
हामी प्रतिस्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ । सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।’
नेता कोइरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरूको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताए ।