त्रिशूलीमा हराइरहेका भारतीय सैनिक १० दिनपछि मृत भेटिए

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १२:३३ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका भारतीय सैनिक रोहित रानाको शव १० दिनपछि भेटिएको छ ।

सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो । उनी भारतीय सेनामा कार्यरत रहेका थिए । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल गत फागुन २ गते बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी नदीमा हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो ।

जसअनुसार आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारेको सशस्त्रका सहप्रवक्ता सैलेन्द्र थापाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us