राधिकालाई मैले होइन, मलाई राधिकाले विवाह गरेर ल्याएकी हुन्ः ओली

काठमाण्डु टुडे २०८१ फागुन १० गते २१:३२ मा प्रकाशित

काठमाण्डू, १० फागुन – प्रधानमन्त्री केपी ओलीले आफूले नभई राधिका शाक्यले आफूलाई विवाह गरेर घर भित्र्याएको बताएका छन् ।

राधिकाको आत्मकथा करूणाको शनिबार लोकार्पण कार्यक्रममा गर्दै ओलीले आफूले राधिकालाई नभई राधिकाले आफूलाई विवाह गरेको बताए ।

राधिकाले पुस्तकमा पनि आफूले डेरा खोजेर केपी ओलीलाई विवाह गरेर भित्र्याएको लेखेको ओलीले बताए । विवाह गर्ने बेलामै आफूले राधिकालाई खान लाउन दिन नसक्ने बताएको समेत जनाए । ओलीले एक कप चिया र एकधरो कपडा लगाउन दिन नसक्ने भनेको उल्लेख गर्दै जीवनभर साथ दिन्छु भन्नसमेत नसकेको खुलाए ।

धाकधक्कु बिना आफूले पुस्तकमा राधिकाले लेखेको उक्त कुरा स्वीकार गरेको ओलीको भनाइ थियो । ओलीले गृहमन्त्री भएर मन्त्री क्वार्टरमा बस्दा सजिलो भए पनि मन्त्रीबाट हटेपछि डेरा नपाएर ससुरालीमै बसेको पनि खुलासा गरे ।

ओलीले बालकोटको घर पनि राधिकाले नै बनाएको बताए । हाल उक्त घरसमेत ट्रष्टलाई दिइसकिएको जानकारी ओलीले दिए । राधिकाको आत्मकथा पढेपछि आफूले उनका पनि केही इच्छाहरु रहेछन् भन्ने थाहा पाएको बताए ।

आफूले श्रीमतीको जन्मदिन भोलिपल्ट मात्र थाहा पाउने गरेको भए पनि श्रीमतीले भने हरेक वर्ष आफ्नो जन्मदिन भव्यरुपले मनाइदिने गरेको उनको भनाइ थियो । श्रीमतीको माया र हेरचाहकै कारण आफू हालसम्म बाँच्न सकेको पनि ओलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us