लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम होः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ फागुन १० गते १२:३८ मा प्रकाशित

काठमाण्डू, १० फागुन– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन । आज शनिबार काठमाण्डूमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।

उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने पनि बताएका छन । उनले भने, ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई सङ्कटमा धकेल्ने काम हो ।

त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’ उनले लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको पनि बताएका छन ।

उनले दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता भएको पनि बताएका छन ।

उनले कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको उनको भनाइ छ । राज्यका सबै अङ्गमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us