काठमाण्डू, १० फागुन– नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले फरक मत राखेका छन् ।
पार्टीको विधानमा सम्मानित र वरिष्ठ नेता केन्द्रीय कमिटीले निर्वाचित गर्नुपर्ने व्यवस्था गरेकामा झलनाथले असहमति राखेका हुन् । खनालले आफूलाई पार्टीको ‘सामान्य सदस्य’ भने । खनाल पार्टीको १०औं महाधिवेशनबाट सम्मानित नेता निर्वाचित भएका थिए ।
बैठकमा खनालले ‘गलत निर्णयलाई सच्याऔं, पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं’ शीर्षकमा लिखित फरक मत वितरण गरेका छन । पार्टीमा सल्लाह नगरी अध्यक्ष माधव नेपालले अनेरास्ववियू र युवा संघको नेतृत्व परिवतृन गरेकामा आपत्ति जनाए ।
समाजवादीले अन्तरपार्टी निर्देशिका (अपानी) जारी गर्दै अनेरास्ववियु अध्यक्ष आरती लामा र युवा संघका अध्यक्ष कृष्ण विकलाई पदमुक्त गरेकामा खनालले आपत्ति जनाए ।
त्यसबाट असन्तुष्ट समूहले समानान्तर कमिटी घोषणाको तयारी गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि रहेका खनालले १२ गतेसम्मको समय मागेर समानान्तर घोषणा रोकेका थिए ।
‘फेरि टिके प्रथा, ठाडो बर्खास्तगी गर्ने, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छँदा खाँदाका कमिटीहरू विघटन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरुमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका हो’, खनालले लेखेका छन्, ‘हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ । यो निरंकुश तरिका हो । यो नोकरशाही तरिका हो ।’
जनसंगठनहरूलाई थप स्वायत्त ढंगले चल्न दिनुपर्ने खनालले माग गरेका छन् ।