भ्रष्ट नेताहरुले देश लथालिङ्ग बनाएः राप्रपा सांसद शाही

काठमाण्डु टुडे २०८१ फागुन ८ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अमेरिकाबाट नेपाललाई प्रदान गरिएका विभिन्न शीर्षकका सहयोग रकमको स्पष्ट हिसाब खोज्नुपर्ने बताएका छन ।

आज (बिहिबार) प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताएका हुन । उनले नेपालमा संघीयताको नाममा आएको रकमबारे छानबिन गर्नुपर्ने पनि बताएका छन । उनले अमेरिकाबाट लिइएको सहयोगबारे अमेरिकाकै राष्ट्रपतिले भ्रष्टाचारको आरोप लगाएकाले यसको सत्यतथ्य सार्वजनिक हुनुपर्ने पनि बताएका छन ।

सांसद शाहीले भने, ‘नेपाल राष्ट्र बैंकको अनुमति बिना विदेशी रकम भित्र्याउन पाइँदैन। त्यसैले गभर्नरलाई समितिमा बोलाएर विस्तृत रिपोर्ट माग्नुपर्छ ।’ सांसद शाहीका अनुसार हालै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई ‘भ्रष्ट देश’ को संज्ञा दिएका छन्।

‘संघीयताको नाममा आएको २० मिलियन अमेरिकी डलर (आजको विनिमय दरअनुसार २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ) र जैविक विविधता संरक्षणका लागि आएको १९ मिलियन डलर (२ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ) भ्रष्टाचारमा गयो भनेर ट्रम्पले नै भनेका छन्,’ शाहीले उल्लेख गरे।अउनले अमेरिकी राष्ट्रपतिले नेपाललाई ‘फ्रड’ (भ्रष्टाचार गर्ने) देश किन भने भन्ने प्रश्न उठाउँदै यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न माग गरे।

‘राष्ट्र बैंकका गभर्नरलाई समितिमा बोलाएर यसको स्पष्ट विवरण माग्नुपर्छ,’ उनले जोड दिए। सांसद शाहीले एमसीसी परियोजनामा समेत आर्थिक अपचलन भएको आरोप लगाउँदै नेपाली रकम पनि त्यसमा समावेश भएकाले जवाफदेही तय गर्नुपर्ने धारणा राखे ।

‘एमसीसीका लागि नेपाल सरकारले १९.७ करोड अमेरिकी डलर (झन्डै २१ अर्ब रुपैयाँ) छुट्याएको छ। त्यसमध्ये आधाभन्दा बढी विभिन्न कम्पनीका नाममा खर्च भइसकेको छ,’ उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us