विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रहः देशका लागि केही गर्नुस्

काठमाण्डु टुडे २०८१ फागुन ८ गते १५:२६ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्नुपर्ने बताएका छन ।

आज (बिहिबार) कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले आत्मविश्वास र इमानदारीपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताएका छन । उनले भने, ‘इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ ।

बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईंहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन ।

’कुलपति ओलीले भने, ‘तपाईंहरु समाज र देशका लागि उपयोगी हुनुपर्छ। आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ। देश र समाजका लागि केही गर्नुस्। नागरिक सर्वोच्चताको गर्व तपाईंहरुमा होस ।’

उनले सानो देशमा छु भन्ने हीनताबोध भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने दोहोर्याए। समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न सङ्काय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराए। साथै उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत पनि गरे।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us