स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

काठमाण्डु टुडे २०८१ फागुन ८ गते १३:३१ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ ।

तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले बताएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुँदै छ ।

अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेताहरू स्ववियुको तयारीका लागि जुटिसकेका छन् । संसद्को चौथो दल रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिएको छ । त्यसैले उम्मेदवारी नहुने रास्वपाको भनाइको छ ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले स्ववियु निर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने जानकारी गराए ।‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्दछ । हाम्रो पार्टीको नाम स्वतन्त्र छ ।

तर, स्वतन्त्र विद्यार्थी युनियनको चरित्र नै स्वतन्त्र हो,’ बुर्लाकोटीले भने, ‘चरित्र स्वतन्त्र भएको र शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्दछ । दलीय हिसाबले हुनु हुँदैन ।’ विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायका काममा क्रियाशील विद्यार्थी नेताहरू स्ववियुमा विजयी हुनुपर्ने मान्यता रास्वपाको रहेको बुर्लाकोटीले जानकारी दिए ।

आगामी ५ चैतमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु निर्वाचन गर्न लागिएको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचन आंगिकतर्फ ९ वटा क्याम्पसमा चुनाव हुन सकेको थिएन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us