काठमाण्डू, ६ फागुन– काठमाण्डूको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो ।
उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन ।
अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।
छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथै २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरीएको उनले जानकारी दिए । यो समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको छ ।
स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । उक्त वेबसाइटमा दिएको सम्पर्क गर्ने माध्यम ह्वाट्स एप, टेलिग्र्राममार्फत विभिन्न व्यक्तिहरूलाई सम्पर्क गरी गेम खेलाउने गरेका थिए ।
त्यसका लागि स्काई एक्सचेन्जकै मान्छेहरूले लगइन गर्नेलाई युजर आईडी र पासपोर्ट बनाएर दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।