काठमाण्डू, ५ फागुन– एमाले सांसद सूर्य थापाले मिडियाकर्मीको व्यवहार गैरजिम्मेवार भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाका बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । उनले संसद सचिवालयको ध्यानाकर्षण गराउँदै उनले पत्रकारहरूले आफूमाथि ‘तपाईं हनुमान हो ?’
भन्ने प्रश्न गरेको भन्दै आपत्ति जनाए। सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद थापाले पत्रकारहरूले मर्यादा, सामाजिक शिष्टाचार, कानुन र संविधानको सीमा नाघेर जनप्रतिनिधिलाई आरोपित गर्ने शैलीमा प्रश्न गर्ने प्रवृत्ति बढ्दै गएको पनि बताएका छन ।
उनले भने, ‘सांसदहरूमाथि कस्ता प्रश्न सोध्ने भन्ने विषय संविधान र कानुनबमोजिम हुनुपर्छ कि पर्दैन रु कसैलाई परिचालित भएर आरोप लगाउने अधिकार पत्रकारलाई छ कि छैन ?’सांसद थापाले विशेष रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूले ‘तपाईं हिटलर हो ?’
भनेर सोधेको विषयमा पनि गम्भीर असन्तोष व्यक्त गरे । उनले यस्ता प्रश्नहरू असंवैधानिक र असंसदीय रहेको दाबी गर्दै पुनः दोहोरिन नदिन संसद सचिवालयले आवश्यक पहल गर्नुपर्ने पनि बताएका छन ।
उनले थपे, ‘नेपालको संसद्ले चयन गरेको प्रधानमन्त्रीलाई हिटलर भन्न मिल्छ ? यस्तो पत्रकारिता संविधानसम्मत छ कि छैन ?’ थापाले पत्रकारहरूले संविधान, कानुन र आचारसंहिताभित्र रहेर प्रश्न गर्नुपर्नेमा जोड दिँदै संसद सचिवालयलाई जिम्मेवार पत्रकारिताका लागि आवश्यक कदम चाल्न आग्रह गरे । थापाले व्यक्तिगत अनुभव पनि सुनाए ।
‘म आफैंले भोगेको छु । एकजना मिडियाकर्मीले बुम तेर्स्याएर ‘तपाईं हनुमान हो ?’ भनेर सोधे । यस्तो गैरजिम्मेवार व्यवहार उचित हो ? सांसदहरूप्रति सम्मानजनक व्यवहार हुनुपर्दैन ?’ उनले प्रश्न गरे ।