काठमाण्डू, ५ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा निधन भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र अन्य नेपाली विद्यार्थीहरूमाथि भएको दमनबारे संसदमा उठाउन खोज्दा सभामुखले समय नदिएको भन्दै आपत्ति व्यक्त गरेकी छन ।
श्रेष्ठ संसद पटक–पटक समय माग्दा पनि सभामुख देवराज घिमिरेले अनुमति नदिएपछि सांसद बैठक बहिष्कार गर्दै बाहिरिएकी थिइन् । संसद बैठक सुरु हुनासाथ सांसद श्रेष्ठले आकस्मिक समयमा बोल्न सभामुखसँग समय मागेकी थिइन् । तर सभामुख घिमिरेले अन्य सांसदलाई बोल्न दिएपछि आकस्मिक समय सकिएको भन्दै श्रेष्ठलाई बोल्ने अवसर दिइएको थिएन ।
श्रेष्ठले आफ्नो धारणा राख्न समय दिन आग्रह गर्दा सभामुखले ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ । तपाईं आसन ग्रहण गर्नुस्’ भन्दै रोक्ने प्रयास गरेका थिए। तर श्रेष्ठले नेपाली विद्यार्थीमाथि भएको अन्याय संसदमा उठाउनुपर्ने बताउँदै आफ्नो अडान राखिन् ।
संसद बैठक बहिष्कार गरेपछि श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो विषय आकस्मिक समयमा उठाउन आवश्यक ठान्नु भएन सभामुखले । बरु प्रधानमन्त्रीलाई कस्तो प्रश्न सोध्ने भन्ने विषय बढी महत्त्वपूर्ण ठान्नुभयो।’ श्रेष्ठले भारतीय विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको अवस्था गम्भीर रहेको भन्दै नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताइन्। साथै, त्रासमा परेका नेपाली विद्यार्थीहरूलाई संयमित रहन आग्रह गरेकी छन्।