काठमाण्डू, ५ फागुन– आज सोमबार संघिय सांसद भवनमा प्रतिनिधि सभाको बैठक जारी छ । सोमबार बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले आकस्मिक समय माग गरिन् । बैठकको सुरुमै समय माग गरेर उठेकी सांसद श्रेष्ठलाई सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे ।
उनी चुपचाप बसिन् । सभामुख घिमिरेले आकस्मिक समयमा बोल्न नाम टिपाएकाहरूलाई समय दिए । आकस्मिक समयमा सरस्वती बजिमय, रघुजी पन्त, रामकुमार राई, अशोक कुमार चौधरी, वीरेन्द्रप्रसाद महतो, सिता कुमारी राना, सूर्यबहादुर थापा, सम्झना थपलियाले आफ्ना कुरा राखे । यति ८ सांसदले आफ्ना कुरा राखेपछि सभामुख घिमिरेले आकस्मिक समय सकिएको भन्दै शून्य समय सुरु गर्ने बताए ।
प्रतिपक्षी बेन्चमा रहेकी सांसद श्रेष्ठले भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुमाथि कलेज प्रशासनले दमन गरेकोबारे आफ्ना कुरा उठाउन खोजिन् । तर, सभामुख घिमिरेले समय दिएनन् । ‘यहाँबाट समय लिएर मात्रै बोल्न पाइन्छ ।
आसनग्रहण गर्नुस्,’ सभामुख घिमिरेले भने, ‘यहाँलाई मैले समय दिएको छैन । तपाईं आसनग्रहण गर्नुस् ।’ सभामुख घिमिरेले नियमावलीप्रति ध्यानाकर्षण गराए । सांसद् श्रेष्ठ भने आफ्ना कुरा राख्ने प्रयास गरिरहिन् । भारतमा नेपाली विद्यार्थीमाथि भएको दमनबारे आकस्मिक समयमा कुरा राख्नुपर्ने उनले बताएकी थिइन् ।
सुमनाले सोही विषयमा सरकारको ध्यानाकर्षण गराउन सभामुखसँग समय माग गरेको बताएकी छिन् । तर, सभामुख घिमिरेले उनलाई फेरि भने, ‘मैले यहाँलाई समय दिएको छैन भन्ने कुरा सुन्नेगरी राखेको छु ।
त्यसकारण आसनग्रहण गर्नुस् । नियमको पालना गर्नुपर्छ भन्ने कुराप्रति हेक्का राख्नुस् ।’ यति कुरा राखेर सभामुख घिमिरेले शून्य समयको कार्यक्रम अघि बढाए । सांसद श्रेष्ठ बैठक कक्षबाटै निस्किइन् ।