काठमाण्डू, ५ फागुन– रुपन्देहीको देवदहबाट छिमेकी देश भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीय दिपा खनाल र ४० वर्षिया गीता शर्मा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।
कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले जानकारी दिएका छन । साथै उनले उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको पनि जानकारी दिए ।
उनले भने, ‘पूर्व वडाध्यक्ष पनि अर्को गाडीमा जानुभएको रहेछ । उहाँका अनुसार दुर्घटनामा मृत्यु भएकाहरुका बारेमा थाहा पाएको हौँ । अन्य कुरा बुझ्ने काम हुँदैछ ।’
दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले ३ जनाको मृत्यु भएको भारतीय प्रहरीले पुष्टि गरेको जानकारी दिए । घटनाको विस्तृत विवरण बुझ्ने काम भइरहेको उनले जानकारी दिएका छन ।