अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

काठमाण्डु टुडे २०८१ फागुन ५ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– कीर्तिपुरस्थित बर्न अस्पतालले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए ।

पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार नै भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको अस्पतालका निर्देशक किरण किशोर नकर्मीले जानकारी दिएका छन ।

उनले भने, ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन, यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’

मेयर धनराज आचार्यमा भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने अस्पताल स्रोतले जानकारी दिएको छ ।

यस्तै आचार्यलाई सङ्क्रमणको जोखिम कम गर्न हाललाई भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us