काठमाण्डू, ४ फागुन– कालीकोटको तिला नदीमा माछा मार्ने क्रममा शनिबारदेखि बेपत्ता भएका तिलागुफा–४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
शनिवार बिहान ६ बजे तिला नदीमा बेपत्ता भएका शाहीको खोजी जनपद, सशस्त्र प्रहरी र स्थानीयले गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको जानकारी दिएका छन ।
२४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो) थापेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार बिहान झरेउला निकाल्न तिला नदीमा पुगेका बेला चिप्लिएर नदीमा खसेका स्थानीयले बताएका छन ।