काठमाण्डू, ४ फागुन–एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रकाश ज्वालालाई प्रतिनिधि सभाको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा प्रतिप्रश्न गरेका छन् ।
सांसद ज्वालाले प्रत्येक स्थानीय तहमा अस्पताल र निर्वाचन क्षेत्र रणनीतिक सडक अहिलेसम्म किन सम्पन्न भएनन् भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरेका हुन । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीति कार्यक्रम र हरेक पालिकामा अस्पताल बनाउने घोषणा गरेको थियो ।
कार्यक्रम घोषणा भएपछि सरकारबाट बाहिरिए । मपछि बनेको सरकारले ती कार्यक्रमलाई प्राथमिकता दिएनन । कार्यक्रम रोकियो, ‘मपछिको सरकारमा प्रश्नकर्ता माननीयज्यू पनि भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो क्यार ।
उहाँहरूले नै ती कार्यक्रम रद्द गरेजस्तो लाग्छ । कार्यक्रम आफै रद्द गर्ने अनि अहिले प्रश्न सोध्ने र किन सम्पन्न भएन भनेर भन्ने । हाम्रोमा अनौठो सस्कार छ ।’