अमेरिकाले नेपाल आउने ५ अर्ब सहयोग रोक्यो

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १४:१३ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको झण्डै ३ करोड ९० लाख अमेरिकी डलरअर्थात ५ अर्ब ५३ करोड रुपैयाँ भन्दा धेरैको सहयोग रोक गरेको छ ।

अमेरिकी अर्बपति एलन मस्कले नेतृत्व गरिरहेको अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ) ले एक्समा पोस्ट गर्दै यसबारे प्रस्ट पारेका छन । डिओजीइका अनुसार २ करोड डलर संघीयता र १ करोड ९० लाख डलर जैविक विविधता संरक्षणका लागि छुट्याइएको थियो ।

यो कदम विभिन्न देशहरूमा गरिएको व्यापक विदेशी सहयोग कटौतीको अंश हो, जसमा नेपालमा मात्र नभई कम्बोडिया, बंगलादेश, सर्बिया, र भारतमा पनि करोडौं डलर बराबरका परियोजनाको रकम रोकिएको छ ।

यी सहयोगहरू शासन, लोकतन्त्र प्रवर्द्धन, र सामाजिक विकाससँग सम्बन्धित परियोजनाहरूमा खर्च गर्ने योजना थियो। यस कटौतीको निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एक कार्यकारी आदेशको भागको रूपमा आएको हो, जसमा स्टेट डिपार्टमेन्ट र यूएसएआईडीमार्फत वितरित सबै अमेरिकी सहयोगको पुनरावलोकन गर्न भनिएको थियो ।

यस निर्णयले नेपाल सरकार र यूएसएआईडीको साझेदारीमा सञ्चालित विभिन्न परियोजनाहरूमा असर पार्ने छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us