संसदमा रास्वपाको प्रश्नः ठूला मान्छे जल्दा हेलिकोप्टरमा उद्धार, साना जल्दा बसको छतमा उपचार ?

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १३:२९ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् बिन्दबासिनी कशांकारले सर्वसाधारण र राज्य सञ्चालनमा रहेकाहरु जलनमा पर्दा उपचारमा विभेद हुने गरेको बताएकी छन् ।

  प्रतिनिधिसभा बैठकमा आइतबार सून्य समयमा बोल्दै उनले पोखरामा शनिबार पर्यटन महोत्सव उदघाटनपछि बेलुन उडाउने क्रममा आगलागी भएर जलेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि हेलिकोप्टरमा काठमाण्डू ल्याइएको बताइन् ।

तर, कमलपोखरीस्थित शान्दार मःम मा भएको ग्यास बिस्फोटमा घाइते भएकाहरुको स्थान अभावमा बसको छतमा उपचार गरिएको बताइन् । ‘जलन जहिले र जसको पनि हुन सक्छ’, कशांकारले भनिन्, ‘यसले सानो मान्छे र ठूलो मान्छे भन्दैन ।’ शानन्दारमा मःमः मा ग्यास पड्किँदा १४ जना घाइते भएका थिए । घाइतेमध्ये ४ जनाको ज्यान गइसकेको छ ।

११ जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । सांसद कंशाकारले हरेक वर्ष ६० देखि ६५ हजार नेपाली जल्ने गरेको तथ्यांक प्रस्तुत गरिन् । आफूले ७ महिनाअघि संसदमा दर्ता गराएको गैरसरकारी जलन विधेयक पारित गरी जलन पीडितको उपचारका लागि कानूनी व्यवस्था गर्न उनले माग गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us