काठमाण्डू, ४ फागुन– गुल्मीमा विद्यालय जान हिंडेकी एक बालिकाको सडक माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा इश्मा गाउँपालिका वडानम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका बिष्णु कुमाल रहेकी छन् ।
आइतबार बिहान स्कुल जानेक्रममा सडक माथिबाट खसेको ढुंगाले लाग्दा उनी गम्भीर घाइते भएकी गुल्मीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालले जानकारी दिएका छन । गम्भीर घाइते बालिकालाई उपचारका लागि गुल्मी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले जानकारी दिएका छन ।
छल्दीबाट ठाढुंगा जानेबाटोमा श्रेष्ठ कन्टक्सन प्रालि तम्घासले ३ वर्ष अघिदेखि निर्माणको काम गर्दै आइरहेको छ । बाटो विस्तारका लागि जेसीबीले डाँडा खनिरहेको समयमा एक्कासि ढुंगा सडकमा खसेको थियो ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयको आरोप रहेको छ । जेसीबी चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइहेको प्रहरीले जानकारी दिएको छ ।