काठमाण्डू, ३ फागुन– बाराको एक सुधार केन्द्रमा कुटपिट गरी प्रदीपप्रसाद मण्डलको हत्या भएको छ । उनको हत्या भएको सीसीटिभी फुटेज बाट खुलेको हो । बाराको कलैया उपमहानगरपालिका– १ बैँक रोडस्थित ‘नवजन्म सुधार केन्द्रका कर्मचारीहरूले मण्डललाई मिलेर कुटपिट गरी हत्या गरिएको सीसीटिभी फुटेजमा देखिन्छ ।
प्रहरीले फेला पारेको सीसीटिभी फुटेजमा सुधार केन्द्रमा कार्यरत कर्मचारीहरूले मिलेर लात्ती र मुक्काले कुटिरहेको दृश्य देखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा मृतक मण्डल अनुशासनमा नबस्दा केन्द्रका कर्मचारीहरूले निर्घात कुटपिट गरेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।
बारा प्रहरी प्रमुख सन्तोष तामाङले भने,‘सुधार केन्द्रमा जङ्गी शासन हुँदो रहेछ, अनुशासनमा नबस्दा कर्मचारीहरूले यातना दिने गरेका छन् । यो घटनामा पनि त्यही भएको अनुसन्धानबाट खुलेको छ ।
मृतक मण्डल अलि कडा स्वभावका थिए, सुधार केन्द्रभित्र अनुशासनमा बस्नका लागि सुरुमा उनीसँग विवाद भएको देखिन्छ, ‘तर उनी नमानेपछि कर्मचारीहरू मिलेर लात्ती, मुक्का र चप्पलले हिर्काएका छन् ।’
यसरी ५÷७ जना मिलेर निर्घात कुटपिट गरेपछि उनको मृत्यु भएको प्रहरी अनुसन्धानमा देखिएको उनले जानकारी दिएका छन । मण्डलको मृत्यु भइसकेपछि मात्र केन्द्रका कर्मचारीहरूले उपचारका लागि भन्दै अस्पताल लगेको अनुसन्धानबाट खुलेको छ ।
प्रादेशिक अस्पताल कलैयाले सुधार केन्द्रमा राखिएका लागु औषध दुर्व्यसनी मण्डलको मृत्युबारे प्रहरीलाई सूचना दिएको थियो । त्यसलगत्तै प्रहरीको टोलीले घटनास्थलको अनुसन्धान तथा सीसीटिभी फुटेजको अध्ययन गरेको थियो ।
सोही क्रममा सञ्चालक सदस्यहरूसहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख तामाङको भनाइ छ । मृतक मण्डल कलैया–९ रामपुर टोल निवासी रहेको जनाइएको छ ।
उनी लागू औषधको दुर्व्यसनी भएकाले उनको परिवारले १५ दिन अगाडि मात्रै सुधार केन्द्रमा भर्ना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।