
काठमाण्डू, १ फागुन– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको आरोप लगाएका छन् ।
माओवादी जनयुद्धको ३०औं वार्षिकोत्सवका अवसरमा बिहीबार रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित कार्यक्रममा शर्माले प्रचण्ड नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भनेर झुक्याएको बताए ।
तर, वर्तमान सरकारले भने पीडितलाई पैसा दिने भएको शर्माको भनाइ थियो । अघिल्लो सरकारले ५ लाख दिने भनेर नदिएको र अहिलेको सरकारले एक लाख घटाएर ४ लाख दिन लागेको शर्माले उल्लेख गरे । ‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्याएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन’, शर्माले भने, ‘अहिलेको सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् ।’
शर्माले छिमेकी जिल्ला जाजरकोटका नेता शक्ति बस्नेत मन्त्री भए पनि भूकम्प पीडितले राहत नपाएको टिप्पणी गरे । ‘पहिले पनि हामीले हारगुहार नगरेको होइन । हाम्रो वरिपरिका मन्त्री पनि थिए, तर केही भएन’, शर्माले भने, ‘अहिलेको सरकारले कमसेकम कार्यविधि टुंग्याएको छ । केही बजेट आएको छ, अब काम गर्न सकिने भएको छ ।’
शर्माले रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि राहत र उद्धारका काममा आफू सुरुका दिनखेदि नै सक्रिय रहेको दाबी गरे । रुकुमले धोका दिन नजाने तर धोका खाने गरेको भन्दै शर्माले पार्टीमा सुधार ल्याउनुपर्छ भन्दा आफूमाथि अनेक लाञ्छाना लगाइएको गुनासो गरे ।