काठमाण्डू, १ फागुन– एमाले निकट नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेतामाथि प्रहरीले अपहरण शैलीमा नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएको छ ।
दरबारमार्ग वृत्तका प्रहरीले अस्कल क्याम्पसका विद्यार्थी नेता प्रकाश वयकमाथि अमानवीय व्यवहार गरेको भन्दै गम्भीर अनेरास्ववियुका अध्यक्ष समिक बडालले आपत्ति व्यक्त गरेका हुन ।
अध्यक्ष बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले माघ ३० गते राति ७ बजेतिर वयकलाई ‘नेपाल प्रहरीको प्रतिनिधि हुँ’ भन्दै फोन गरी बाहिर बोलाएर नियन्त्रणमा लिइएको उल्लेख गरेको छ।
प्रहरी टोलीले उनलाई टोखा लगी नाक, मुख, आँखा सुन्निने गरी कुटपिट गरी राति २ बजे आफन्तको जिम्मा लगाएको बताइएको छ । संगठनले यस घटनाको भर्त्सना गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा प्रहरीले बिना कारण विद्यार्थीलाई नियन्त्रणमा लिई अमानवीय व्यवहार गर्नु गैरकानुनी भएको उल्ललेख गरेको छ ।
‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ। तत्काल घटनामा संलग्न दोषीहरूमाथि कारबाही गर्न जोडदार माग गर्दछौं।,’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष बडालले घटनाबारे निष्पक्ष छानबिन नभए संगठन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
उनले प्रहरी संगठनभित्रका केही सदस्यहरूको गैरजिम्मेवारपूर्ण व्यवहारकै कारण यस्ता घटना दोहोरिइरहेको आरोप लगाउँदै कानुनी राज्यको मर्मअनुसार दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । 