काठमाण्डू, १ फागुन– प्रहरीले खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई पक्राउ गरेको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कस्थित ठुलाढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय दुई युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुश्मा–१४ बगाल थोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेल रहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ । पौडेलद्वयले गत माघ २९ गते वनमा आगो लगाएका थिए ।
वनमा आगो लगाउँदा वनजङ्गल, वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीको टोलीले दुई युवालाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरबहादुर बानियाँले जानकारी दिएका छन ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पर्वत पठाइएकामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी पुनः प्रहरी हिरासतमा राखिएको उनले जानकारी दिए ।
साथै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बानियाँले बताए ।