बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत कार्य सकियो

काठमाण्डु टुडे २०८१ फागुन १ गते १५:१० मा प्रकाशित

काठमाण्डू, १ फागुन– नेपाल बिद्युत् प्राधिकरणले बिद्युतका तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न गरेको छ ।

थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिएका छन ।

‘पाइप फुटेपछि मन्त्रीज्यूको निर्देशन पश्चात् हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले बल्ल आएर मर्मत कार्य सकिएको र पानी परीक्षणको कार्य भइरहेकाले परीक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ, उनले भने ।’

बिद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिएका छन ।

बिद्युत्का तारहरू अन्डर ग्राउन्ड गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि पानी जमेर जलमग्न भएको र विशेष अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us