
काठमाण्डू, ३० माघ– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले माधव नेपालको पार्टी फुटाउनका लागि अध्यादेश ल्याउने आफ्नो योजना नरहेको बताएका छन् ।
पार्टी निकट निजामति कर्मचारी संगठनको १२औं महाधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी नरहेको बताए ।
तर, दलसम्बन्धी कानूनको रिक्तता रहेकाले सरकारले सदनमा विधेयक ल्याउने उनको भनाइ छ । ‘अहिले पार्टी फुटाउन अध्यादेश ल्याउन खोज्यो भनेर कराउँदैछन् । नाम पनि लिन्न तपाईंहरु चिनिहाल्नुहुन्छ । तिनीहरुले एमाले फुटाउन अध्यादेश ल्याएका थिए । हामीलाई कुनै अध्यादेश ल्याउनु छैन । हामी संसदबाट विधेयक ल्याउँछौं । अध्यादेश चाहिँदैन । संसदमा विधेयक ल्याएर ऐन बनाउँछौं’, ओलीले भने ।
दुई तिहाइको समर्थन प्राप्त सरकारले कसैको पार्टी फुटाउँन आवश्यक नभएको जिकिर ओलीको छ । ‘फुटाउन पनि कुनै चट्टान फोर्ने होइन, यत्रायत्रा गिट्टी ढुंगा फुटाएर को बस्छ । त्यो आवश्यकता छैन। सोख पनि छैन’, उनले भने ।