छविलाललाई पुर्पक्षमा पठाउने जिल्लाको फैसलाबारे उच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाण्डु टुडे २०८१ माघ ३० गते १९:२७ मा प्रकाशित

काठमाण्डू, ३० माघ– उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको बचत ठगी कसुरमा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी बन्जाडेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको रुपन्देही जिल्ला अदालतसँग कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले मंगलबार जोशीको तर्फबाट उनका छोरा रोचकले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश राजेश्वर तिवारीको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको जानकारी दिए ।
जिल्ला अदालत रुपन्देहीले सोमबार जोशीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
कैफियत प्रतिवेदन प्राप्त भएपछि संयुक्त इजलासमा मुद्दाको सुनुवाई हुने सूचना अधिकारी कुँवरले बताए ।

सुप्रिम सहकारीका १ हजार ८ सय ३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक जोशीसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

लामिछाने भने धरौटी बुझाएर रिहा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us