
काठमाण्डू, ३० माघ– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्याल र आफूहरुलाई हात्तीको संज्ञा दिएका छन् ।
एमाले कर्मचारीहरुको संस्था निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनलाई बुधबार सम्बोधन गर्दै ओलीले हात्तीको सिकार गर्न भनेर प्रचण्डले १०÷१२ वटा स्याल जम्मा पारेर हिंडेको बताए । ‘१०÷१२ वटा स्याल जम्मा भएर वरिपरि कुदेका छन् ।
हात्तीको छेउमा पुग्यो भने झुक्किएर कुल्चियो भने पनि च्या भन्न पाउँदैछन्’, ओलीले भने । प्रचण्डबाट चेतेपछि कांग्रेस र एमाले मिलेको उनको भनाइ थियो । ३२ सिट जिते पनि जादुयी नम्बरको भ्रममा पाँचै वर्ष प्रधानमन्त्री खाने सपना बिथोलिएपछि प्रचण्डको बेहाल भएको टिप्पणी ओलीले गरे ।
‘सीट ३२ वटा छ, जित्या छ, १८ वटा छ । धाक कस्तो छ भने पाँचै वर्ष खान्छु । जादुयी नम्बर छ । जादुयी नम्बर भनेको यसको खान्छु भएन भने अर्कोको काँधमा उफ्रिएर चढ्छु । त्यो काँधमा चढेर धम्काएर खान्छु । आफू त सधैं प्रधानमन्त्री कस्तो मिठो, गज्जबको सपना देख्या । त्यो सपना भंग भएपछि अहिले त्यस्ता तत्वहरुको बेहाल भएको छ’, ओलीले भने ।
उनले मोर्चा बनाउने भए पनि स्यालहरुको नभई एमाले र कांग्रेसजस्तो गरिखाने खालको बनाउन प्रचण्डलाई सुझाए ।