काठमाण्डू, ३० माघ– प्रधानमन्त्री केपी ओलीले सरकारमाथि घेराबन्दी भएको बताएका छन् ।
एमाले निकट निजामती कर्मचारी संगठनको १२औं अधिवशेनलाई बुधबार सम्बोधन गर्दै उनले घेराबन्दीले सरकारलाई केही फरक नपर्ने दाबी गरे ।
आगामी ०८४ को आमनिर्वाचनसम्म वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने उनको भनाइ थियो । ओलीले काँग्रेस र एमालेबीच गत १७ असारको मध्यरातमा भएको सहमतिअनुसार आफूले ०८३ असारमा राजीनामा दिने र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दोहोर्याए ।
विपक्षीले सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाए पनि सरकार विकास निर्माण र सुशासनको बाटोमा अघि बढेको जिकिर उनको थियो ।
ओलीले विगतमा आफ्नै दलका नेताहरुका कारण सरकारबाट बाहिरिनुपरेको स्मरण गरे । त्यतिबेलै गरेको घोषणअनुसार आफू जनताको समर्थनमा मूल ढोकाबाट सरकारको नेतृत्वमा आएको तर्क गरे ।