प्रधानमन्त्री ओलीको अमर्यादित टिप्पणीः प्रचण्डलाई साँगा कटाउने धम्की

काठमाण्डु टुडे २०८१ माघ ३० गते १८:२९ मा प्रकाशित

काठमाण्डू, ३० माघ– प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साँगा र थानकोट कटाउने तयारी गर्न निर्देशन दिएका छन् ।

पार्टी निकट निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै ओलीले प्रचण्डको नाम उल्लेख नगरी ‘विद्रोह गर्छु भन्दै अराजकता मच्चाउन खोज्नेलाई’ डाँडा कटाउन आन्दोलनका लागि तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिए ।

सरकारमै भए पनि लोकतन्त्रका रक्षाका लागि आन्दोलनमा उत्रनुपर्ने हुन सक्ने उनको भनाइ थियो ।

‘अहिले अनेक देशको नाम लिएर यहाँ विद्रोह गर्छौँ भन्नेहरु निस्किएका छन्’, ओलीले भने, ‘यदि तिनिहरुले नेपालमा अराजकता मच्याउन खोजे भने, सामाजिक शान्ति सुव्यवस्था बिगार्न खोजे भने देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पारेर अराजकता मच्याउन खोजे भने त्यस्ताहरुलाई काठमाण्डूबाट साँगा र थानकोट कटाउनको लागि आन्दोलन गर्नुपर्ने हुनसक्छ ।’

प्रचण्डले पछिल्लो समय जनभावनाविपरीत चल्दा बंगलादेश र श्रीलंकामा वर्षौंसम्म शासन चलाएका शासकलाई जनताले खेदेको भन्दै नेपालमा पनि त्यस्तो अवस्था आउन सक्ने बताउँदै आएका छन् ।

वर्तमान सरकारले आफूनिकट भ्रष्टाचारीहरुको संरक्षण गरेको तथा बिचौलिया र स्वार्थ समूहको चाहनामा काम गरेकाले त्यो नरोकिए आन्दोलनमा उत्रने अवस्था आउन सक्ने प्रचण्डको चेतावनी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us