ठमेलमा प्रहरी कुटपिट प्रकरणः बदनाम गर्न खोजिएको एमाले अखिलको आरोप

काठमाण्डु टुडे २०८१ माघ ३० गते ९:४२ मा प्रकाशित

काठमाण्डू, ३० माघ– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाण्डूको ठमेलमा ड्युटीमा रहेका प्रहरी कुटिएको घटनालाई लिएर संगठनको बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

अनेरास्ववियु अध्यक्ष समिक बडालले बुधबार विज्ञप्ति जारी गर्दै घटनासँग जोडेर बदनम गरिएको उल्लेख छ । उनले अनेरास्ववियु सधैं कानूनी राज्यको पक्षमा रहेको भन्दै घटनामा संलग्न जो कोही भए पनि कारबाही गर्न माग गरे ।

अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्रीमार्फत् अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको भन्दै बडालले त्यस्ता गलत प्रचारबाजीको भर्त्सना गर्ने बताए ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) टोलीमाथि मादक पदार्थ सेवन गरेका अखिल कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमणमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका छन् । घटनामा संलग्न अखिल कार्यकर्ताहरु ताप्लेजुङ फुङलिङ नगरपालिका–१ का २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका छन् ।
तर, बझाङ घर भएका अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई भने माथिको आदेशमा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले सत्ता पक्षका विद्यार्थीले प्रहरी कुटेको र उनीहरुमाथि कारबाही नभएको भन्दै आपत्ति जनाएका थिए । उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us