काठमाण्डू, २९ माघ– काठमाण्डू महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले घरेलु श्रमिक राखेकी एमाले लुम्बिनी प्रदेशसभा सांसद रेखाकुमारी शर्मालाई सरकारले उन्मुक्ति दिएकामा सामाजिक सञ्जलमा पोष्ट गरेका छन् ।
साहले पीडक बालिकालाई ढाडस दिएका छन् । सरकारले पीडकलाई मुद्धा नलाग्ने बनाए पनि समय आउने भन्दै नआत्तिन पीडित बालिकालाई साहले आग्रह गरेका छन् ।
‘सरी नानु, तिम्रा पीडकका विरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ’, उनले लेखेका छन्, ‘यस्तै विभेद, अपराध मास्न अनि ती कूकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’
शर्माको घरमा ६ वर्षदेखि घरेलु कामदारका रुपमा कार्यरत बालिका हाल
महानगरको संरक्षणमा छिन् ।
महान्यायाधिवक्ता कार्यालयले शर्माविरुद्ध मुद्धा नचलाउने फाइल तयार पारेको छ । बालिकाको उद्धार भइसकेको र हाल उनी सुरक्षित रहेकाले शर्माविरुद्ध मुद्धा चलाउन जरुरी नरहेको जिकिर महान्यायाधिवक्ता कार्यालयको छ ।
गत ७ जेठमा शर्माको घरबाट उद्धार गरिएकी पीडित बालिकाले खाना पकाउने, कपडा धुने, फूलबारी गोडमेल गर्ने, झाडु लगाउने काम गरेको बताएकी थिइन् ।
सांसद शर्माले आफूलाई पाइपले पिट्ने गरेको बालिकाको भनाइ थियो ।
मेयर साहले बालबालिकालाई दास बनाउने कसुर गरेको आरोपमा शर्मालाई पक्राउ गरी फौजदारी मुद्दा चलाउन प्रहरीमा उजुरी दिएका थिए । त्यसयता एमाले र मेयर साहबीच दोहोरी चल्दै आएको छ ।