काठमाण्डू, २९ माघ– सरकारी कागजातमा नेपाल सरकार लेख्नुपर्नेमा ‘श्री ५ को सरकार’ लेखेर विवादमा आएका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गल्ती सच्याएका छन् ।
चौधरीले नेपाल स्काउट कर्मचारीसम्बन्धी संशोधित नियमावली प्रमाणीकरण गर्दा ‘श्री ५ को सरकार’ लेखेका थिए । मन्त्रीले श्री ५ को सरकार लेखेपछि वर्तमान व्यवस्था राजतन्त्रात्मक हो कि गणतन्त्रात्मक भन्ने प्रश्न उठेको थियो ।
चौधरीले गल्ती भएको स्वीकार गर्दै नियमावली सच्याएर श्री ५ को सरकार लेखिएको ठाउँमा नेपाल सरकार लेखेका छन् । नेपाल स्काउट राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरीले नयाँ प्रमाणीकरण गरेको प्रति स्काउटलाई पठाएका छन् ।
नियमावलीको अनुसूची ४ (क) को कार्यसम्पादन फारामको १ नम्बर बुँदामा मूल्याङ्कन फारामको नमूना श्री ५ को सरकारले प्रचलनमा ल्याएको अनुसार नै हुनेछ’ भन्ने उल्लेख थियो ।
‘संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्थाविपरीत रहेको पाइएकाले उक्त त्रुटि सच्याई नियमावलीमा उल्लेखित श्री ५ को सरकार लेखिएको शब्दको सट्टा नेपाल सरकार शब्दावली राखी प्रमाणीकरण गरी कार्यान्वयनका लागि पठाइएको छ’, मन्त्री चौधरीले हस्ताक्षर गरेको पत्रमा छ ।