अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुशताको प्रस्थानबिन्दु होः शेखर कोइराला

काठमाण्डु टुडे २०८१ माघ २९ गते ८:२५ मा प्रकाशित

काठमाण्डू, २९ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुशताको तयारी भएको बताएका छन् ।

भक्तपुरमा सोमबार आयोजित एक कार्यक्रममा उनले सरकारले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै त्यसलाई निरंकुशताको प्रस्थानविन्दुको संज्ञा दिए ।

संसद छलेर सरकारले अध्यादेश ल्याएकामा उनले आपत्ति जनाए । लोकतन्त्रमा संसदबाटै ऐन, कानून बनाउनुपर्नेमा उनको जोड थियो । अध्यादेशबाट मुलुक चलाउने काँग्रेसको संस्कार नभएको भन्दै उनले सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरे ।

संसदमा दुई तिहाई बहुमतमा रहेको सत्तापक्षका लागि कानून बनाउन संसद छल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘अध्यादेशबाट देश चलाउने काँग्रेसको ‘कल्चर’ नै होइन । संसद छलेर अध्यादेशबाट जान खोज्यौँ भने काम लाग्दैन ।

सत्तापक्षको संसदमा दुई तिहाइ बहुमत छ, संसद छल्नुपर्ने जरुरत नै छैन । अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानबिन्दु हो’, कोइरालाले भने ।

सरकार चल्नै नसक्ने अवस्था भए मात्र अध्यदेश ल्याउनुपर्ने ल्याउनुपर्ने तर्क उनको थियो । कोइरालाले भूमिसम्बन्धी अध्यादेश हुबहु पास भए सरकारी जग्गा हिनामिना हुने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us