काठमाण्डू, २८ माघ– कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको दाबी गरेका छन । आज सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन ।
उनले कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै लोकतन्त्रमा सकेसम्म संसद्बाट नै ऐन, कानुन बनाउनुपर्ने बताएका छन । उनले भने, ‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो ।
हुनतः नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो ।’ उनले दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताउँदै उनले गलतलाई गलत भन्न नसक्ने हो भने कांग्रेसको औचित्य सकिने पनि बताएका छन ।
उनले भने, ‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ ।
हामीले संसद्लाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाई बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन ।’