‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्ने प्रण व्यवहार र आचरणमा देखिनुपर्छः राष्ट्रपति

काठमाण्डु टुडे २०८१ माघ २८ गते १२:५८ मा प्रकाशित

काठमाण्डू, २८ माघ– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैको दबाब र प्रभावमा परेर चुक्न र झुक्न नहुने बताएका छन् ।

आयोगको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले कसैको दबाब वा प्रभावमा नपरी काम गर्न सुझाव दिए ।
कसुर र कसुरदार ठूलो वा सानो नभनी काम गर्न अख्तियार नचुक्ने तथा नझुक्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेकाले अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्नेमा राष्ट्रपतिले जोड दिए ।
सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने बताउँदै सूचना तथा प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा समेत जटिलता थपिएको उनले बताए ।
राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या तथा गुनासो आइरहेको भन्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।

भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधानअनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे ।

सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आमनागरिकमा जागृत गराउन सक्नुपर्नेमा जोड दिए ।

बानी, व्यवहार, आचरण र अभ्यासले ‘म भ्रष्टाचार गर्दिनँ र हुन पनि दिन्नँ’ भन्ने प्रण गर्ने हो भने यसलाई जरैदेखि निर्मूल गर्न सकिने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us