काठमाण्डू, २७ माघ– काठमाण्डूको ठमेलमा ड्युटी खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन । पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष रहेको स्रोतले जानकारी दिएको छ ।
उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो ।
उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए । कुटपिटका मुख्य योनजनाकार अनेरास्ववियुकै नेता कमल जोशी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
जोशीसहित ६र७ जनाको समूहले प्रहरीमाथि आक्रमण गरेको थियो । जोशी अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा अस्कलको पूर्वस्ववियु सभापति समेत हुन् । जोशी भने अहिलेसम्म फरार रहेको प्रहरीले जानकारी दिएको छ ।