अहिलेको गठबन्धन प्राकृतिक हो भनेर दाबी गर्दैनौंः विश्वप्रकाश शर्मा

काठमाण्डु टुडे २०८१ माघ २७ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, २७ माघ– कांग्रेस महामन्त्री महामन्त्री विश्वप्रकाश शर्माले एमाले र कांग्रेसबीच गठबन्धन भएको सरकारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असंवैधानिक भनेकोप्रति आपत्ति व्यक्त गरेका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा कांग्रेस महामन्त्री शर्माले आपत्ति व्यक्त गरेका हुन । उनले एउटै धारा र उपधाराबाट कांग्रेसकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदा ठिक र ओली प्रधानमन्त्री हुँदा बेठिक कसरी हुन्छ ? भन्दै प्रश्न समेत गरेका छन । नेकपा माओवादी अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई अप्राकृतिक, असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गर्दै आएका छन् ।

प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा मात्रै नभइ संसद्को रोष्ट्रमबाट पनि उक्त विषय दोहोर्‍याएका थिए । महामन्त्री थापाले त्यसतर्फ जवाफ दिँदै प्राकृतिक हो भनेर आफूहरूले दाबी नगर्ने र असंवैधानिक चाहिँ कसरी ? भन्दै प्रश्न गरे । उनले प्रश्न गर्दै भने, ‘दुई वटा भिन्न दर्शनकोबीच गठबन्धनको सरकार बन्नु भनेको समयको बाध्यता हो । गणीतिय बाध्यता हो ।

परिस्थितिको आवश्यकता हो । प्रष्ट रुपमा भन्दा यो प्राकृतिक भइरहेको छ भनेर हामी दाबी गर्दैनौं ।’ उनले एउटै धारा, उपधारा र उही दिलको समर्थन मिल्दा कसरी संवैधानिक र असंवैधानिक भन्दै प्रश्न गरेका हुन ।

‘तर के संवैधानिक पनि छैन त ? संविधानको धारा ७६ को उपधारा २ बमोजिम कांग्रेसको समर्थनमा माओवादीको अध्यक्ष प्रधानमन्त्री बन्दा त्यो संवैधानिक रु अनि त्यही संविधानको त्यही धाराको त्यही उपधाराको त्यही पार्टीको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कसरी असंवैधानिक ?, महामन्त्री शर्माले भने । उनले प्रचण्डको उक्त भनाइलाई ‘आवेगात्मक अभिव्यक्ति’ को रुपमा अर्थ लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us