पदको बार्गेनिङबारे प्रश्नमा उपेन्द्रको जवाफः छि, छि, छि, फोहोरी कुरा

काठमाण्डु टुडे २०८१ माघ २७ गते १६:१२ मा प्रकाशित

काठमाण्डू, २७ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति आफ्नो पार्टी सकारात्मक रहेको बताएका छन ।

आज (आइतबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन । उनले अध्यादेश पारित गर्न आफूहरूको कारणले कुनै अवरोध नपरेको स्पष्ट पारे। पार्टीले आफ्नो धारणा बनाइरहेको र यस विषयमा सकारात्मक तथा सिर्जनात्मक सोच राखिरहेको उनको भनाइ छ ।

अध्यादेशबारे ठोस धारणा बनाउन ढिलाइ गर्दै सरकारमा जाने बार्गेनिङ गर्न खोजिएको आरोपबारे प्रतिक्रिया दिँदै यादवले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘छि, छि, छि यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्नुपर्छ ? हामी सरकारमा जाने अवस्थामा छैनौं, हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’

यस्तै, संसदको कार्यसूचीमा अध्यादेश समावेश भएलगत्तै पार्टीले निर्णय लिने बताउँदै यादवले सरकारले कार्यसूचीबाट अध्यादेश फिर्ता लिँदा त्यसको दोष जसपालाई दिन नमिल्ने बताएका छन । उनले भने, ‘हामीले कहाँ अड्काएका छौँ त रु सरकारले आफैं कार्यसूचीबाट फिर्ता लिन्छ, त्यसमा हाम्रो कुनै भूमिका छैन ।’

यादवले अहिले जसपा सरकारमा सहभागी हुने अवस्थामा नरहेको पुनः दोहोराउँदै आफूहरू कुनै मन्त्रालयको भागबन्डा खोज्नेतर्फ नलागेको प्रस्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us