हामी सरकारमा जाँदैनौं, मन्त्रालय चाहिएनः उपेन्द्र यादव

काठमाण्डु टुडे २०८१ माघ २७ गते १५:५९ मा प्रकाशित

काठमाण्डू, २७ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले सरकारमा जानका लागि कुनै बार्गेनिङ नगरेको बताएका छन ।

आज (आइतबार) सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन ।

अध्यादेशलाई देखाएर तपाईंहरू सत्ताको बार्गेनिङ गरिरहनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा यादवले भनेका छन्, ‘यस्ता फोहोरी र फटाहा कुरा गर्ने मान्छेको पनि कुरा गर्ने त रु हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं । हामीलाई मन्त्रालय चाहिएन ।’ उनले अध्यादेशबारे पार्टीले धारणा बनाइसकेको र संसद्को कार्यसूचीमा चढ्नेबित्तिकै निर्णय सुनाउने बताएका हुन ।

सरकारले हिउँदे अधिवेशनभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्को कार्यसूचीमा चढ्न सकेको छैन । यसअघि अध्यादेश पारित गर्नेगरी दुवै सदनमा प्रस्तुत गर्ने तयारी गरेपनि स्थगित भएको थियो ।

उपेन्द्र नेतृत्वको जसपा नेपाल राष्ट्रियसभा निर्णायक देखिन्छ । उसले विज्ञहरूसँग अध्यादेशबारे छलफल गरेर धारणा तय भएको बताइएको छ । यद्यपि संसद्को कार्यसूचीमा नचढेसम्म आफूहरूले निर्णय नलिने अध्यक्ष यादवले बताएका छन ।

उनले भने, ‘हामीले खाली धारणा बनाउँदैछौं । हाम्रो सोच सकारात्मक छ । क्रियटिभ रुपले हामी देश र जनताको पक्षमा सोच्दैछौं । सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ, ‘धेरैजना विज्ञसँग छलफल गरिरहेका छौं ।

कसैले कामचलाउ भन्छन् । कसैले सबै छन् भन्छन् । विज्ञको सुझाव लिएर हामी निर्णय लिन्छौं । उनले आफूहरूको कारण नभइ सरकार नै बाधक बन्दा अध्यादेश कार्यसूचीमा चढ्न नसकेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us