कुटपिट गरी हत्या गरेको आरोपमा बाँकेमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ २७ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, २७ माघ– प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका– ८ का २५ वर्षीय दिनेश रोकायको हत्या आरोपमा दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र वडा नम्बर ६ का १७ वर्षीय एक किशोर रहेको प्रहरीले जानकारी दिएको छ ।

ती किशोरको परिचय भने प्रहरीले खुलाएको छैन । वडा नम्बर ८ स्थित बिचलाईनस्थित एक विवाह कार्यक्रममा शुक्रबार विवादपछि कुटपिट भएको थियो । कुटपिटको क्रममा दिनेश गम्भीर घाइते भएका थिए । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दिनेशलाई तत्काल उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

पछि भारतको लखनउमा उपचारका लागि पठाइएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमै उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us