काठमाण्डू, २७ माघ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नै वर्गबाट अलग्गिन परे पनि चिन्ता नगर्न आग्रह गरेका छन ।
आज (आइतबार) काठमाण्डूको कमलादी स्थित प्रज्ञा–भवनमा जारी नेसपा नयाँ शक्ति को पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा चौधरीले आफूहरूले बाबुराम भट्टराई नभई बाबुराम नेपाली चाहेको बताएका छन । उनले भने, ‘बाबुरामजी के गर्नु तपाईं विधि विधान सबै मिलाउन जान्ने व्यक्ति । तपाईंलाई तपाईंकै वर्गले अलग्याए ।
चिन्ता नगर्नोस् तपाईं रत्तिभर चिन्ता नगर्नुस्,’ ‘हामी तपाईंलाई मिलाउँछौं । हामी तपाईंलाई बाबुराम भट्टराई होइन, बाबुराम नेपाली बनाउन चाहन्छौं । हामीलाई नेपाली बाबुराम चाहिएको छ ।’ सोही प्रसंगमा बोल्दै चौधरीले गैरआवासीय नेपाली नागरिकलाई भिसा निःशुल्क दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरे ।
उनले भने, ‘नेपाली नेपाली भन्ने नेपालभित्र छोरी पनि छैन, ज्वाईं पनि छैन, भाइ पनि छैन , सम्धी पनि छैन । सबै उता छन् । सुन्दैछु उताका मान्छेलाई पनि भिसा दिने रे । उताका मान्छेलाई पनि नागरिकता दिने रे,’ ‘पैसा कमाउनेले १० वर्षसम्म भिसा निशुल्क पाउने रे । हलो जोत्नेले मलमा समेत कर बुझाउनुपर्ने । पैसा कमाउने डलर कमाउनेलाई भिसा निशुल्क । राम राम राम सम्धी कै सम्बन्ध भयो हैन त बाबुराम जी ?’