कम्युनिष्ट एकताका लागि वर्षमानलाई फोन गरेको हुँः शंकर पोखरेल

काठमाण्डु टुडे २०८१ माघ २७ गते १३:३९ मा प्रकाशित

काठमाण्डू, २७ माघ– एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तलाई टेलिफोन गरेको स्वीकार गरेका छन् । पोखरेलले फोन वार्ताका क्रममा भएको अनौपचारिक संवादको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् ।

पार्टी कामका सिलसिलामा पाल्पा पुगेका पुनलाई पोखरेलले शनिबार टेलिफोन गरी अध्यादेशमा सहयोग गर्न आग्रह गरेका थिए । पुनले संसद छलेर गलत नियतका साथ ल्याइएको अध्यादेशमा सहयोग गर्न नसकिने जवाफ दिएका थिए । पोखरेलले अनौपचारिक रुपमा नेताहरुबीच भएका कुराकानी बाहिर ल्याउनु उचित नहुने तर्क गरे ।

‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रूपमा कुरा गर्दछ’, अनौपचारिक रूपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिंदैन ।’ विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भएको भन्दै पुनले अब पुनः त्यही काम गर्नु उचित नहुने बताए ।

कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो भएको भन्दै पोखरेलले लेखेका छन्, ‘वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’

राजनीतिक स्थायित्वका लागि बलिया दलहरुको निर्माण गर्नुपर्छ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरुलाई संवैधानिक र कानूनी रुपमा निषेध गर्नु नभएको र त्यसो गरिने पनि उनले बताए । बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक ध्रुवीकरणको बाटोबाट हासिल गरिने विषय भएको पोखरेलको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us